Logo

भारतको राजदूत बन्न सुरक्षा परिषद्को सल्लाहकारबाट ९ गते नै राजीनामा दिएका थिए शंकरदास वैरागीले



काठमाडौं,१६ साउन । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास वैरागीले पदबाट राजीनामा दिएका नयाँ सरकार बनेसँगै उनले पदबाट राजीनामा दिएका हुन् । यद्यपी उनले गत साउन ९ गतेनै राजीनामा बुझाएका थिए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा मुख्यसचिवबाट राजीनामा दिएर मन्त्री सरहको सुविधा पाउनेगरी उनी सुरक्षा परिषद्को सल्लाहकार बनेका थिए । निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालका लागि ठाउँ खाली गराउन मुख्यसचिव पद त्यागेका वैरागीलाई दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले संविधानमै नभएको सल्लाहकार पद नयाँ सिर्जना गरेर नियुक्ति दिलाएको थियो ।

स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेसँगै ओलीले सो पद हटाउन खोजेका थिए । कार्यकाल नसकिँदै हटाउँदा राजनीतिक पूर्वाग्रहको आरोप खेप्नुपर्ने डरमा रहेका ओलीले वैरागीलाई भारतका लागि राजदूत बनाउने आश्वासन दिलाएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै भारतमा नेपाली राजदूत खाली थियो । विगतमा आफैँ प्रधानमन्त्री हुँदा मुख्यसचिव बनाएको हुँदा वैरागीलाई भारतको लागि राजदूत बनाउन ओली सहमत भएका थिए । स्रोतका अनुसार सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र एमालेबीच राजदूत भागबन्डा हुँदा भारत कांग्रेस र चीन एमालेलाई परेको छ । चीनमा एमालेले कृष्णप्रसाद ओलीलाई सिफारिस गर्दा कांग्रेसको भागमा परेको भारतमा भने निवर्तमान राजदूत शंकर शर्माले नै निरन्तरता पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई फिर्ता बोलाएर वैरागीलाई पठाउने इच्छा राखेका पनि थिए । तर, ओली सरकारमा मन्त्री रहेकी देउवा पत्नी आरजु राणाले शर्मालाई फिर्ता नबोलाउने अडान लिएपछि वैरागी रोकिन पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्