Logo

संविधान संशोधन गर्नै हुँदैन भन्ने बेइमान हुन्, अहिले नै गर्नुपर्छ भन्ने मुर्ख हुन्ः रामनारायण बिडारी



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधान संशोधन गर्न हुँदैन भन्नु बेइमानी हुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्र्स क्लब नेपालद्वारा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गर्नै हुँदैन भन्नेलाई बेइमान र अहिले नै संविधान संशोधन गर्नुपर्छ भन्नेलाई मुर्खको संज्ञा दिएका हुन् ।

‘संविधान संशोधन गर्नै हुँदैन भन्ने बेइमान हुन् । अहिले नै संविधान संशोधन गर्नुपर्छ भन्ने मुर्ख हुन् । यी मुर्ख र बेइमानका कुरा नसुन्नुहोला । संविधान संशोधन योग्य दस्ताबेज हो । संविधान संशोधन गर्ने भनेको परिमार्जन गर्ने भनेको हो, अगाडि बढाउने भनेको हो, मुलुकलाई सजिलो पार्ने भनेको हो, सरकार र व्यवस्थालाई सजिलो पार्ने भनेको हो,’– उनले भने ।

उनले समयानुकूल संविधान संशोधन हुनुपर्नेमा जोड दिए । नेता बिडारीले नेपालमा मात्रै नभएर भारत र अमेरिकामा पनि पटक–पटक संविधान भइरहेको बताए । विगतको ७० वर्षमा ७ वटा संविधान बनेको स्मरण गराउँदै उनले संशोधनभन्दा पनि संविधान परिवर्तनको पक्षमा लाग्दा परिस्थिति बिग्रिएको बताए ।

संविधानको आधारभूत संरचनालाई चलाउनु चाहीँ मुर्खता हुने उनको भनाइ छ । कुनै एउटा वा दुईवटा पार्टीले गोप्य कोठामा बसेर गरेको निर्णयबाट मात्रै पनि संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ । सबै राजनीतिक, नागरिक समाज र सरोकारवाला निकायहरुसँग गोलमेच सम्मेलन गरी संविधानमा संशोधन गर्नुपर्ने विषयमा छलफल गरेर अगाडि जानुपर्ने उनले बताए । उनले संविधानको बेसिक स्ट्रक्चरबाहेक न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका, मौलिक हक कार्यान्वयन सम्बन्धि, राज्यका नीति निर्देशक सिद्धान्तलगायतका विभिन्न विषयहरुमा संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकारलाई प्रतिगामी वा राष्ट्रिय सरकार दुवै भन्न नसकिने उनले धारणा राखे । आफूले पार्टीको निर्देशनबमोजिम कुनै बेलामा कांग्रेसलाई असाध्यै राम्रो लोकतान्त्रिक दल पनि भनेको र कुनै बेलामा एमालेलाई राम्रो दल भन्दै वामपन्थीहरु एक हौं, प्रगतिशीलहरु एक हौं भनेको स्मरण गराउँदै उनले अहिले नै प्रतिगामी सरकार हो भन्न लाज लाग्ने बताए ।

कांग्रेस र एमाले मिलेर सरकार बनेको छ, यसलाई प्रतिगामी भन्नुपर्छ भन्ने पनि छ । होईन यो त कहाँ प्रतिगामी हुनु ? यो राष्ट्रिय सरकार भन्नुपर्छ भन्ने पनि छ । म चाहीँ यो दुईवटै भन्नेवाला छैन, यो राष्ट्रिय सरकार पनि होईन, प्रतिगामी नै पनि कसरी भन्नु ? …मलाई लाज लाग्छ,’– उनले भने ।

साथै, उनले वर्तमान सरकारको आलोचना र प्रशंसा गर्ने बेला भइनसकेको बताए । नेता बिडारीले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सुशासनको पक्षमा सुरु गरेका कामहरु अगाडि बढाउँछ कि बढाउँदैन भन्ने कुरामात्रै हेर्न बाँकी रहेको बताए । संसद्को प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र अन्य प्रतिपक्षी दलहरुले संक्रियता र संयमतापूर्वक भूमिका निर्वाह गर्न सक्नुपर्ने उनले बताए ।

भ्रष्टाचार नियन्त्रणमा सांसदहरुको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । सांसदले चाहेको खण्डमा ५० भ्रष्टाचार नियन्त्रण अहिले नै हुने उनले दाबी गरे । नेता बिडारीले आफूले भ्रष्टाचार नियन्त्राणका लागि धेरै लामो प्रयत्न गरेको बताए । भ्रष्टाचार नियन्त्रणको प्रयत्न गरेकै कारण आफूलाई आफ्ना (माओवादी केन्द्र) र अरुले पनि रिस गरेको उनले सुनाए । नेपालमा अहिले विद्यामान रहेको कानुनबाट भ्रष्टाचार नियन्त्रण नहुने उनको धारणा छ ।

‘यहाँ के–को भ्रष्टाचार ? एक वर्ष कैद हुने ठहर्छ भन्दिन्छ २५ वर्ष लगाएर । त्यस्तो देशमा भ्रष्टाचार गर्न सजिलै भयो । अर्को पनि भ्रष्टाचार गर्न सजिलो छ, अर्ब, खर्ब खाइदिने, ७ वर्ष जेल बस्दिने, त्यो खर्ब पच्यो । त्यस्तो कानुन छ । मान्छेले जिन्दगीभरमा खर्ब कमाउँदैन । अनि मजाले पाइभ स्टार होटलबाट खाना मगाएर झेलखानाभित्रको हाकिमलाई किनेर बेला–बेला लुकेर घर पनि गएर मजाले बस्दिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्