Logo

प्रदेश संरचना हटाउन र स्थानीय तह घटाउन आवश्यक छः एमाले नेता तामाङ



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना हटाउनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता तीन तहकै हुनुपर्छ भन्ने कहीँ कतै पनि नरहेकाले प्रदेश संरचना हटाउने र स्थानीय तहलाई घटाउनेतर्फ लाग्नुपर्ने बताएका हुन् । ‘मेरो पार्टीले नमान्ला । तर, म चाहीँ भन्छु– प्रदेश संरचान किन चाहियो ? संघीयताकै कुरा गर्ने हो भने तीन तहकै हुनुपर्छ भन्ने कहाँ छ ? दुई तहको संघीयता हुँदैन र ? संघीयता दुई तहको बनाए हुन्छ नि,’ उनले भने ।

साथै, उनले केन्द्रमा सांसदको संख्या पनि घटाउनुपर्ने बताए । नेता तामाङले कूल १६५ निर्वाचनमा नै समावेशी समानुपातिकलाई मिलाउनुपर्ने बताए । केही संख्यालाई राष्ट्रिय सभामा लान पनि सकिने उनको भनाइ छ । नेता तामाङले वर्तमान सरकारले यिनै विषयलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने र पार्टीभित्र पनि यिनी विषयमा छलफल भइरहेको बताए ।

साथै, उनले विभिन्न आयोगहरुको पनि औचित्य सकिएको भन्दै तिनीहरु कटौति गर्न जरुरी रहेको बताए । स्थानीय तहको संख्या पनि ३ सयको हाराहारीमा ल्याउनुपर्ने उनले बताए । संविधान संशोधन गरेर संरचना घटाउँदा एक वर्षमा दुई खर्ब बजेट बचाउन सकिने उनले दाबी गरे । नेता तामाङले यसरी विभिन्न संरचना हटाएर साधरण खर्चबाट बचेको दुई खर्ब बजेटबाट धेरै विकास निर्माणको काम गर्न सकिने बताए ।

वर्तमान सरकारले जनताको घरदैलोमा सेवा पुर्याउने कुरालाई विशेष प्राथमिकता दिएको उनको दाबी छ । कामको हिसाबले केही हुँदैछ भनी आश्वस्त पार्नेतर्फ सरकार अगाडि बढेको नेता तामाङले बताए । ‘अहिले यो सरकार गठन भइसकेपछि जनताले स्थायित्वको महसुश गरेका छन् । मुलुकमा जाम भएको अर्थतन्त्र चलायमान भइरहेको छ । लागनीको वातावरण पनि बन्दै गएको छ । विदेशी लगानी भित्रिने वातावरण पनि बनिरहेको छ । सरकार जनताले महशुस गर्नेगरी सकारात्मक दिशामा अगाडि बढेको छ,’– उनले भने ।

अहिले संसद्मा रहेका राजनीतिक दलमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीमात्रै सरकारमा सँगै नबसेको बताउँदै उनले प्रतिपक्षमा पुग्नेबित्तिकै आरोप प्रत्यारोप गर्नुको कुनै औचित्य नरहेको बताए । सरकारमा रहँदा बसेको कुर्सीको तातो सेलाउन नपाउँदै आलोचना सुरु गर्न नहुने उनको भनाइ छ ।

माओवादीले आफू सत्तामा हुँदा केही पनि नगरेको र सत्ताबाहिर पुगेपछि यसो गरौला, उसो गरौला भनेर खबरदारी गरिरहेको उनको टिप्पणी छ । वर्तमान सरकारले संक्रमणकालीन न्याय टुङुगोमा पुर्याउन वातावरण निर्मााण गरिरहेको बताए । द्वन्द्वका पीडितहरुको न्याय नपाइ मृत्यु भइसकेको बताउँदै उनले अब यस कार्यमा ढिलाइ गर्न नहुने बताए ।

साथै, उनले प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सस्ता कुरा गरेर नै समय विताएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्