Logo

‘सिधा कुरा’विरुद्धको अदालतको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदै



काठमाडौं,१७ साउन । सिधा कुरा अनलाइनविरुद्ध सर्वोच्चमा दर्ता भएको अवहेलना मुद्दालाई आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले सो मुद्दा सुनुवाइका लागि ९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलाश गठन गरेको छ । सो इजलासमा सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, श्री विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलास गठन भएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले मुद्दाको निरुपण बढी न्यायाधीश सम्मिलित इजलासबाट हुन उपयुक्त देखिएकाले पेशी व्यवस्थापन निर्देशक समिति समक्ष पेश गर्न आदेश दिएको थियो।

तथ्यपरक एवं सत्य साँचो विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षको समेत निर्देशन हुनुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले उक्त मुद्दाको निर्णय बढी न्यायाधीश सम्मिलित इजलासबाट हुन उपयुक्त देखिएको जनाइएको थियो।

सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनले सिधा कुरा डटकम, त्यसका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा लगाइएको छ। न्यायाधीशद्वय चुडाल र शर्माको इजलासले जेठ ३० मा गरेको आदेश सर्वोच्च अदालतले आज बिहीवार सार्वजनिक गरेको हो।

यसअघि सर्वोच्चले सिधा कुरामा प्रकाशित श्रव्यदृश्यको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनेको थियो।

 ‘४ सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकको सामग्री ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलबाट वैशाख १४ मा प्रकाशन/प्रसारण गरिएको थियो । उक्त अडियो प्रसारणपछि वैशाख १६ मा सर्वोच्च अदालत प्रशासनले उपरजिस्ट्रार घिमिरेमार्फत न्यायिक कार्यमा अवरोध पुग्ने गरी भ्रामक सामग्री प्रसारण भएको भन्दै ‘सिधा कुरा’ का कँडेल र ढुंगानाविरुद्ध अवहेलना मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्