Logo

म गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको संलग्नता पुष्टि भएन, निर्दोष भन्न पनि सकिएनः नारायणकाजी श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणर्थी प्रकरणमा छानविन हुँदा डा. आरजु राणा देउवाको प्रत्यक्ष संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला नपरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालासँग संवाद गर्दै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले आफूलाई बुझाएको तथ्य र प्रमाणले आरजूको संलग्नता पुष्टि नगरेको बताएका हुन् । नेता श्रेष्ठ तत्कालीन अवस्थामा तथ्य र प्रमाणले पुष्टि नगरेपनि आरजू निर्दोष हुन् भन्न पनि नसकिने बताए । आफू गृहमन्त्री भएको बेला आरोप पुष्टि हुने कुनै प्रमाण भेटिनसक्छ भनेर उक्त फाइल बन्द नै नगरेको उनले सुनाए ।

‘तथ्य र प्रमाणको आधारमा गर्ने हो । तथ्य र प्रमाणले दोषी नठहरिएपछि, प्रमाणित नभएपछि त्यतिखेर उहाँ दोषी हो भनेर मैले भन्न सक्ने कुरा भएन । तर, दोषी प्रमाणित पनि भएन ।’ उनले भने, ‘म गृहमन्त्री हुँदा जती अनुसन्धान सीआईबीमार्फत भयो, सीआईबीले मसमक्ष प्रस्तुत गरेको तथ्य र प्रमाणले उहाँ संलग्न प्रत्यक्ष देखापरेन । त्यसैले थप अनुसन्धानको लागि भनेर राखेका छौं । हामीले कहाँ क्लोज गरेका छौं र त्यो ?’

आफूले सरकारमा बसेको अधिकारीको हैसियतले तथ्य र प्रमाणको आधारमा काम गरेको उनले दाबी गरे । कुनै कुरा चर्चामा आउँदैमा मानिस दोषी नहुने र त्यसलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्ने उनको भनाइ छ । तथ्य, प्रमाण छैन भने सरकारले कुनै पनि व्यक्तिमाथि प्रवृत्त भावना राख्न नहुने उनको भनाइ छ । आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाण फेला परेका सबै कानुनको दायारमा आएको उनको दाबी छ ।

‘तथ्य प्रमाणले जति फेला परेको छ, मैले सबैलाई कानुनको दायरामा ल्याएँ । हामीले उपप्रधानमन्त्री भएका, गृहमन्त्री भइसकेका, वहालवाला सचिव, वहालवाला माननीयलगायत ठूला भनिएका व्यापारी घरानाका को व्यक्तिलाई ल्याइएन ? जसले अपराध गरेको छ,’– उनले प्रश्न गरे ।

भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अगाडि बढ्दैगर्दा आफूमाथि विभिन्न प्रकारका दवाब आएको उनले बताए । तर, आफू सत्य, न्यायका निमित्त दवाबको सामू कहिल्यै नझुको उनको भनाइ छ । अनुसन्धानले संलग्नता देखाएको ठूला माछा समातिएनन् भन्ने कुरामा कुनै सत्यता नरहेको उनको भनाइ छ । File Photo



प्रतिक्रिया दिनुहोस्