Logo

प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश गएको छः उपमहासचिव गजुरेल



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जनतामा प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश गएको टिप्पणी गरेका छन् । माओवादीका पदाधिकारीहरुले गरेका केही गल्ती, कमीकमजोरीका कारण पार्टीको त्यो अवस्थामा पुगेको उनको दाबी छ । पार्टी त्यो अवस्थामा पुग्नुको सबै पदाधिकारीहरुले आ–आफ्नो ठाउँबाट नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

गत शुक्रबारदेखि बसेको पार्टी पदाधिकारी बैठकमा छ बुँदे फरक मत राख्दै नेता गजुरेलले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको आह्वानसमेत गरेका थिए । उनले अन्य पदाधिकारीहरुले राजीनामा नदिए आफू भने राजीनामा दिने भन्दै पार्टी अध्यक्ष प्रचण्डसँग अनुमति मागेका थिए । नेता गजुरेलले पार्टी प्रचण्डको कारणमात्रै नबिग्रिएको बताए । उनले पार्टीमा अहिले प्रचण्डपछिको नेतृत्व गर्न सक्ने नेता नै नरहेको र प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश जनतामा गएको बताए ।

‘पदाधिकारी लेवलबाट केही गल्ती, कमीकमजोरी भएका छन् । यो पार्टी बिग्रेको हाम्रो कारणले पनि हो । प्रचण्डलाई मात्रै दोष दिएर हुँदैन । हामीले पनि ठीक भूमिका निर्वाह गरियो कि गरिएन ? आज पार्टीमा हुनुपर्ने प्रचण्डपछि नेताहरु क्षमतावान हुनुपर्ने, त्यो त छैन । प्रचण्डपछि माओवादी रहन्छ कि रहँदैन भन्ने सन्देश गएको छ । त्यो राम्रो कुरा होईन । हाम्रो भूमिका नपुगेको हो,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

यो पनि पढ्नुहोस्ः माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान

साथै, उनले पार्टी पदाधिकारी बैठक विधानसम्मत नभएको पनि बताए । माओवादीको स्थायी कमिटीमा ४६ जना रहेका र स्थायी कमिटीको एक तिहाइमात्रै पदाधिकारी हुनुपर्ने बताए । विधानअनुसार १५ जना पदाधिकारी हुनुपर्नेमा २१ जनाको बैठक बसेको उनले बताए । नेता गजुरेलले आफूले सामूहिक राजीनामाको आह्वान गरेको स्वीकार गरे ।

उनले भने, ‘पार्टी निर्माण गर्ने हो भने गल्ती, कमीकमजोरी कहाँ–कहाँ भएँ ? करेक्सन गर्नुपर्छ । अरु पनि विषयहरु छन् । करेक्सन गर्न मिल्नेजति करेक्सन गर्ने, नमिल्ने कुराहरुलाई स्वीकार्ने र भविष्यमा त्यो गल्ती नदोर्याउने प्रतिवद्धता व्यक्त गर्ने भन्ने स्पिरिटमा पदाधिकारीहरुले नैतिक जिम्मेवारी दिएर सामूहिक राजीनामा दिउँ । अरु साथीहरु तयार हुनुहुन्न भने म चाहीँ राजीनामा दिनका लागि अध्यक्षसँग अनुमति माग्छु भनेको हो मैले ।’

गजुरेल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । तर, उनले बीचमै सो पदबाट राजीनामा दिए । गजुरेलले राजीनामा दिएर बाहिरिँदै गर्दा अनेक टिकाटिप्पणी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्