Logo

डीआइजी मनोज केसीको सरुवाबारे गृहमन्त्री लेखकको जवाफ: उहाँलाई झन् राम्रो ठाउँमा खटायौँ



काठमाडौं,१७ साउन । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले केसीको सरुवाको निर्णयको बचाउ गरेका हुन् ।

आजको बैठकमा राष्ट्रिय सभाका नेकपा एकीमृत समाजवादीका सांसद घनश्याम रिजालले केसीको सरुवाबारे प्रश्न उठाएका थिए । जवाफमा लेखकले केसीलाई झनै राम्रो ठाउँमा खटाएको जिकिर गरे ।

‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ,’ उनले भने, ‘जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो। र योग्यतम ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि। प्रहरी राम्रो बनाउनु पर्‍यो।’

गृहमन्त्री लेखकले डीआईजी सरुवा गरेर डीआईजीनै ल्याएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा बुभ्न आग्रह गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका केसीलाई सरकारले गत साउन ९ गते सरुवा गर्दै उनको ठाउँमा डीआइजी राजन अधिकारीलाई ल्याएको थियो । भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापा पक्राउ परेपछि केसीलाई सरुवा गरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्