Logo

१५ प्रतिशत सदस्य थपेर केन्द्रीय कमिटी चयन गर्दै एकीकृत समाजवादी, होला त भोलि घोषणा ?



काठमाडौं,१७ साउन । महाधिवेशन सकिएको १ महिना सम्म पनि केन्द्रीय कमिटी र पदाधिकारी चुन्न नसक्दा आलोचित बनिरहेको नेकपा एकीकृत समाजवादीले शुक्रबार जसरी भएपनि केन्द्रीय कमिटी चयन गर्ने भएको छ ।

बुधबार बसेको पार्टीको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको थियो । सो कार्यदलले हिजोबाटै काम थालेको नेताहरुले बताएका छन् । कार्यदलले हालको विधानमा १५ प्रतिशत सदस्य थपेर ३४५ जनाको केन्द्रीय कमिटी बनाउनेगरी काम गरेको एक नेताले जानकारी दिए ।

पार्टीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन तयारी भएको छ । तर, केन्द्रीय सदस्यका आकंक्षीहरूको संख्या अधिक भएपछि २९९ को १५ प्रतिशत थप गरी केन्द्रीय कमिटी बनाउन लागिएको हो । महाधिवेशनको हलबाट ९३ जना केन्द्रीय सदस्य चयन भइसकेका छन् ।

अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ जना केन्द्रीय चयन भएपछि थप केन्द्रीय र पदाधिकारी चयनमा समस्या आएको थियो । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्यसहित पदाधिकारी चयन प्रक्रिया पनि आरम्भ गर्न लागेको नेताहरूको भनाइ छ ।

गत महिना काठमाडौंमा भएको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको थियो, भने खनाललाई सम्मानीत नेतामा राख्ने निर्णय गरेको थियो । सोही महाधिवेशनले ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । १० दिनभित्र पदाधिकारी र कमिटी टुंग्याउने भनेपनि आकांक्ष धेरै हुँदा नाम टुंग्याउन सकस परेको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्