काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि कांग्रेससँगकै गठबन्धन उपयुक्त थियो भन्ने कुरा घामजस्तै छर्लङ्ग रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेसँग मिलेर प्रचण्डले गलत गरेको बताएका हुन् ।
उनले तत्कालीन अवस्थामा आफैंले एमालेसँग पार्टी एकता गर्न भुमिका खेलेको स्मरण गराउँदै यो एकता नटिकेपछि नेताहरु मिल्न सक्दैनन् भन्ने शिक्षा हासिल भएको उनले सुनाए । उनले नेकपा विघटनबाट प्रचण्डले शिक्षा लिन नसकेको बताए ।
‘देशको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, यो सबै हिसाबले पनि अब हामी कांग्रेससँगकै सहकार्य गरेर जानुपर्छ भन्ने छलफल भइसकेपछि त्यसलाई नै टिकाएर लैजाउँ भन्ने मैले सुझाव पनि राखेकै हो, सल्लाह पनि दिएकै हो मेरो नेतालाई । तर, उहाँले फेरि बदल्नुभयो । बदलेर टिकाउनुस् है फेरि भनेको थिएँ मैले त, टिकेन । त्यसकारणले के पुष्टि भयो भनेदेखि अध्यक्ष प्रचण्डका लागि कांग्रेससँगकै गठबन्धन उपयुक्त थियो भन्ने कुरा आज घामजस्तै छलङ्ग भइसक्यो,’– उनले भने ।
नेताहरुलाई आफूलाई लागेको खण्डमा कार्यकता र जनताको कुरा नसुन्ने समस्या रहेको उनले बताए । नेता शर्माले नेतृत्वमा लोकतान्त्रीकरणको समस्या रहेको बताए । उनले आम जनताले के भन्छन्, के गर्दा देशलाई फाइदा हुन्छ भन्दा पनि नेतालाई फाइदा हुने काम गर्दा प्रचण्ड अहिलेको अवस्थामा आइपुगेको बताए । File Photo/RN