काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको जिम्मा तेस्रो पुस्तालाई दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीका पहिलो र दोस्रो पुस्ताका नेताहरु संरक्षक र सल्लाहकारको भूमिकामा बसेर तेस्रो पुस्तालाई कार्यकारीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् । उनले तेस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी नजाने हो भने माओवादी सुध्रिन नसक्ने बताए ।
‘माओवादीलाई रुपान्तरित गर्नका लागि मैले पार्टीमा हामी अहिले पदाधिकारीस्तरमा भएको जति छौं, कोही संरक्षक बनौं, कोही सल्लाहकार बनौं । नयाँ पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ, हामीभन्दा तलको तेस्रो पुस्तालाई दिउँ । त्यसले आन्दोलन हाँक्छ, हामीले गाइड गरौं । अब हामीले धेरै लोभ गर्नुपर्ने छैन, त्याग गरौं । त्याग गर्यो भने पार्टी बनाउन सकिन्छ मैले भनेको छु । मेरो प्रस्ताव अडाडि बढ्यो भने पार्टी बन्छ । माओवादीलाई सच्याउनका लागि तेस्रो पुस्तामा नेतृत्व जानुपर्छ र तेस्रो पुस्ताले इमानदारिताको साथ काम गर्नुपर्छ,’– उनले भने ।
अहिले माओवादीका पदाधिकारीमा रहेको पुस्ताले लामो समय नेतृत्व गरिसकेको उनले बताए । अब त्यो नेतृत्व बुढो भएको र थाकेको टिप्पणी गर्दै उनले त्यो पुस्ताले अब तेस्रो पुस्तालाई गाइड गर्नुपर्ने बताए । अब माओवादीमा भूमिका फेरिनु पर्ने उनको धारणा छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संरक्षक र अरु पदाधिकारीहरु सल्लाहकार बसेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विकल्प नरहेको उनको भनाइ छ ।