काठमाडौं,१८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सोडारीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
विश्वासको मत लिनका लागि डाकिएको बैठकमा मत नपाउने निश्चित भएपछि सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन् । नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जनाको मात्र समर्थन थियो । सोही कारण सोडारीले मतदानमा जानेभन्दा पनि सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन् । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना पुग्दानपुग्दै पदबाट राजीनामा दिनुपर्यो ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्दछ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा ठ्याक्कै २७ सांसद मात्रै थिए । उनको आफ्नो दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०/१०, नाउपाका २ र स्वतन्त्र सांसद डा। तारा जोशीको समर्थन पाएका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनको सरकार ढल्न पुगेको छ । अब त्यहाँ नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नाउपासहितको सरकार बन्नेछ ।
सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन । साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडेको अवस्थामा रहेको सरकारी खर्च ठप्प छ । एमाले सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा पर्दा सोडारीले बजेट पास गर्न सकेका थिएनन् ।
उनले चालु अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याउने प्रयास गरेका थिए । तर, कांग्रेस र एमालेका २१ सांसदले लिखित निवेदन दिँदै विशेष अधिवेशनको माग गरेपछि सोडारीको सो प्रयास पनि सफल भएन । अझ सत्ता संकटमा हुँदा विश्वासको मत दिएकी कृषिमन्त्री टिका थापालाई सत्ताच्यूत हुनु तीन दिन अघि बर्खास्त गरे । विशेष अधिवेशन बहिष्कार गरेका सोडारीले थापा सहभागी भएपछि पदबाट हटाएका हुन् ।