काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टीको नेतृत्व तेस्रो पुस्तामा अहिले नै हस्तान्तरण हुन नसक्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी जेनेरेसनभन्दा पनि विचार र नीतिका आधारमा अगाडि बढ्ने बताएका हुन् ।
पार्टी उपमहासचिव जनार्दन शर्माले भर्खरै सम्पन्न पार्टीको पदाधिकारी बैठकमा पार्टीलाई मजबुद बनाउन तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए । उपमहासचिव शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संरक्षक भएर बस्न भनेका थिए । अन्य पदाधिकारीहरु सल्लाहकार भएर बसेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर आन्दोलन हाँक्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
उपमहासचिव शर्माको उक्त प्रस्तावमा अहिले माओवादी जान नसक्ने महासचिव गुरुङको भनाइ छ । महासचिव गुरुङले पुस्तालाई बायोलोजिकल प्रश्नको रुपमा ब्याख्या गरे । उनले जेनेरेसनभन्दा पनि पार्टीको आईडीओलजिकल प्रश्नमा छलफल हुनुपर्ने बताए ।
‘पुस्ताको कुरा भनेको चाहीँ बायोलोजिकल प्रश्न हो । पार्टी आईडीओलोजिकल प्रश्न हो । विचार र नीतिको प्रश्न हो, त्यस भएकाले विचारको आधारमा हेर्ने कुरा हो, विचारले जेनेरेसनको कुरा गर्दैन । पार्टी विचारको आधारमा बन्ने कुरा हो । पार्टीमा सबै प्रकारका जेनेरेसन हुन्छन्, तर विचार र जेनेरेसन एउटै विषय होईन । पार्टी विचारको आधारमा चल्ने भएको हुनाले विचार सही भयो या गलत भयो भन्नेतिर छलफल केन्द्रीत हुने होला । गलत विचार लिएको रहेछ भने कसरी सही विचारमा हिँड्न सकिन्छ, प्रयास त्यो हो,’– उनले भने ।