काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयमा पठनपाठन भएको छैन भन्ने कुराको परिणाम नतिजाले देखाएको बताए । उनले संसारको अभ्यासलाई हेर्दा विद्यालयस्तरको परीक्षामा ५२ प्रतिशतमात्रै पास हुने कुरा लज्जास्पद रहेको बताए ।
उनले माध्यामिक तह अध्यापन भइरहेका लगभग ६ हजार सामुदायिक विद्यालयमध्ये ७२ वटामा मात्रै विषयगत शिक्षक पूर्ण रहेको बताए । यसरी विषयगत शिक्षक नै पूर्ण नभएको अवस्थामा नतीजा राम्रो खोजेर विद्यार्थीलाई मात्रै दोष दिन नहुने उनको धारणा छ ।
साथै, शिक्षण पेशालाई आकर्षित पेशाको रुपमा राज्यले विकास गर्न नसकेको उनको भनाइ छ । कक्षा १२ उत्र्तीण गरेका २८ देखि ३० प्रतिशत योग्य विद्यार्थी अध्ययनका लागि विदेश गइरहेको उनले बताए ।