काठमाडौं, १९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न लागेको आरोप लगाएका छन् । शनिबार ओखलढुङ्गा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले वर्तमान सरकारले राजनीतिक स्थीरताको नाममा समावेशीतालाई हटाउने, थ्रेसहोल्ड बढाउने र संघीयतालाई समाप्त खोजेको भन्दै सरकारको उक्त रबैयाप्रति आपत्ति जनाएका छन् ।
संघीय प्रणालीलाई अन्त्य गरी केन्द्रिकृत र नियन्त्रित एकात्मक शासन लाद्ने प्रयत्य हुन थालेको अध्यक्ष यादवको दाबी छ । समावेशीता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै संघीयता भएको भन्दै उनले ठूला दलका नेताहरुको अस्थिर मानसिकता, सबैथोक सरकार नै हो भन्ने सोच, सत्ताको लागि जे पनि कुकर्म गर्न तयार हुने व्यवहार, चरित्र र मानसिकता नै राजनीतिक अस्थिरताको मूल कारण भएको बताएका छन् ।
समावेशीता, लोकतन्त्र र संघीयता हटाएर निरंकुशतामा राजनीतकि स्थिरता खोजेर नहुने कुरा जिकिर गरे । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब १ सय नेता कार्यकर्ता जसपा, नेपाल प्रवेश गरेका छन् । अध्यक्ष यादवले नवप्रवेशीलाई खादा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।