Logo

मुख्यमन्त्रीले रोकेको कर्णालीमा कांग्रेसका ४ मन्त्रीको शपथ कहिले हुन्छ ?



काठमाडौं,२० साउन । कर्णाली सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसका मन्त्रीहरुको शपथ आज साँझसम्म हुने भएको छ । नेपाली कांग्रेसले गत शुक्रबारनै नाम पठाएपनि मन्त्रीहरुको शपथ हुन सकेको थिएन् ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिबविक्रम शाह, उद्योग मन्त्रालयमा सुरेश अधिकारी, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी र ऊर्जा मन्त्रालयमा बिजया बुढाको नाम तोकेर शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई सिफारिस गरेको थियो।

सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रका मन्त्री फिर्ता भएपछि साउन ७ गतेदेखि यी मन्त्रालय खाली थिए। कांग्रेसले तीनै मन्त्रालय लिने योजनासहित सांसदहरूको नाम पठाएको हो।

तर, मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय एमाले स्वयंले राख्ने र मन्त्रालयको बारेमा पनि पुर्नसंरचना गर्नुपर्ने अडान राख्दै मन्त्रीहरुको शपथ रोकेको स्रोतको दाबी छ । मुख्यमन्त्री कँडेलले मन्त्रालयभित्रको पुनर्संरचनाको विषयमा कांग्रेससँग कुरा राखेका थिए । कुनै मन्त्रालयमा कामको जिम्मेवारी धेरै, कुनैमा निकै कम भएकाले कम जिम्मेवारी भएका मन्त्रालयलाई पनि जिम्मेवारी थप्ने गरी मन्त्रालय भित्रको पुनर्संरचनाको विषयमा कँडेलले यसअघि देखिनै चासो दिइरहेका थिए ।

कर्णालीमा कांग्रेस संसदीय दलवीहिन छ । दलका नेता जीवनबहादुर शाही भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा छन् । शाही नहुँदा छलफलका लागि मुख्यमन्त्री कँडेल र संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टबीच कुरा नमिलेको बताईको छ । तर, मुख्यमन्त्रीको सचिवालयले भने प्रदेश प्रमुख शुक्रबारमात्र प्रदेशमा आएको हुँदा समय अभावको कारण मन्त्रीको शपथ रोकिएको बताएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार बिहान मात्रै कर्णाली पुगेर पदभार ग्रहण गरेका थिए । मन्त्रीको नाम सिफारिस पछि मन्त्री हुनेहरू शपथका लागि तयारी अवस्थामा छन् । कँडेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । त्यअघिनै आफ्ना मन्त्रीको शपथ हुनुपर्ने कांग्रेसको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्