काठमाडौं,२० साउन । केन्द्रको सत्तासमीकरणमा फेरबदल आएको १ महिना हुँदापनि गण्डकी प्रदेश सरकार पुनर्गठन हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल गठन गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दराम न्यौपानेको नेतृत्वमा सांसदहरु जितप्रकाश आले र प्रकाश बराल तथा एमाले संसदीय दलका मूख्य सचेतक गोविन्दबहादुर नेपाली र सांसदद्धय भीम कार्की र वेदबहादुर गुरुङ रहेको एक कार्यदल गठन गरिएको छ ।
शुक्रबार गठन गरेको सो कार्यदलले शनिबार एक चरणमा छलफल गरेको थियो । आज आइतबार साँझ फेरि कार्यदलको बैठक बस्ने तयारी भएको छ । गण्डकीमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको छ । हाल मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिष्द गठन भएको पाण्डे मुख्यमन्त्री तथा डा टकराज गुरुङ, डा विन्दुकुमार थापा, फणीन्द्र देवकोटा र दीपक मनाङे मन्त्री छन् । हाल मुख्यमन्त्रीसँग ३ मन्त्रालय बाँकी रहेको छ ।
गण्डकीमा एमालेले देवकोटा र मनाङेलाई हटाएर आफूलाई ४ मन्त्रालय दिनुपर्ने अडान राखेपछि विवाद भएको थियो । सो विवाद हाल पनि मिलेको छैन् । आफू नेतृत्वको सरकार ढलेपछि बनेको पाण्डे सरकार जोगाउन मनाङे र देवकोटाले साथ दिएको भन्दै एमाले संसदीय दलका नेता खगराज अधिकारी दुवैलाई सरकारबाट हटाउनुपर्ने पक्षमा छन् भने आफ्नो सत्ता जोगाएर संकटमा साथ दिएका उनीहरुलाई हटाउने पक्षमा मुख्यमन्त्री पाण्डे छैनन् ।
मनाङे र देवकोटालाई नहटाउने बरु मन्त्रालय फुटाउन सकिने कांग्रेसको अडान रहेको छ भने मन्त्रालय फुटाउन नहुने एमालेको अडान छ । दुवैको आ आफ्नो अडानका कारण प्रदेश सरकार पुनर्गठन हुन विलम्ब भएपछि कार्यदल गठन गरिएको हो । सो कार्यदलले मन्त्रालय भागबन्डाको विषय र मन्त्रालको संख्या तय गरेपछि केही दिनमै एमाले पाण्डे सरकारमा सामेल हुने नेताहरुको भनाइ छ ।
अधिकारीले शत्रु ठानेका मनाङे र देवकोटालाई मुख्यमन्त्री पाण्डेले मित्र ठान्दा विवाद देखिएको नेताहरु बताउँछन् । मुख्यमन्त्री पाण्डे स्वास्थ्य उपचारका लागि केही दिनअघि भारत गएका थिए । उनी शनिबारमात्र काठमाडौं आइपुगेका छन् । पाण्डेले काठमाडौंमा पनि कांग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छट । प्रदेशको भागबन्डा पनि केन्द्रले नै टुंग्याउने हुँदा सकेसम्म सबैलाई मिलाउनेगरी काठमाडौंबाटै सहमति जुटाएर राजधानी पोखरा फर्किने पाण्डेको योजना रहेको छ ।