काठमाडौं, २० साउन । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहीले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।
शाहीले आज (आइतबार) प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । सुदूरपश्चिमका कांग्रेसको १८ र एमालेको ११ सांसद छन् । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान भएको थियो ।
केन्द्र सरकारमा एमाले र माओवादीको सत्ता समीकरण भत्किएपछि गत असार २० गते एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको थियो । सत्ता साझेदार दल एमाले बाहिरिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले ३० दिन अल्पमतको सरकार चलाएर गत शुक्रबार राजीनामा दिएका थिए ।
कूल ५३ सदस्यीय प्रदेश सभाका सरकार बनाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । शाही यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् ।