Logo

भक्तपुरको विकास निर्माण अधकल्चो हुनुमा कांग्रेस मुख्य दोषी छः महेश बस्नेत



काठमाडौं, २० साउन । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा विकास निर्माणको काम अधकल्चो हुनुमा मुख्य दोषी कांग्रेस रहेको बताएका छन् । आज (आइतबार) भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसभन्दा अघि एमाले नेतृत्वको सरकार रहेको बेला जिल्लाभित्र ७ वटा करिडोरलगायत विभिन्न विकास निर्माणका कामहरु सुरु भएपनि ती अहिले अधकल्चो अवस्थामा रहेको बताएका हुन् ।

‘धेरै कामहरु आज अधकल्चो भएका छन् । यी कामहरुलाई पूरा गर्नु हाम्रो दायित्व हो । तीन वर्षदेखि हामी नेतृत्वविहीन भएको कारणले, हामी सत्ताविहीन भएको कारणले यी सबै कामहरु अधकल्चो भएको छ । यो सबै काम अधकल्चो हुनुमा कांग्रेस मुख्य दोषी छ । किनभने कांग्रेसले यहाँबाट चुनाव जितेको छ । हिजो सत्ताको नेतृत्व प्रचण्डजी र शेरबहादुर देउवाजीले गरेको कारणले उहाँहरुलाई यसको दोष दिनैपर्छ,’– उनले भने ।

नेता बस्नेतले भक्तपुरको हनुमन्ते करिडोर नबन्नुमा मुख्य दोषी कांग्रेस रहेको आरोप लगाए । जगन्नाथ आचार्यको ५४ रोपनी जग्गा जोगाउने दाउमा करिडोरको काम नै नभएको उनको भनाइ छ । हनुमन्ते करिडोर नबन्दा वर्खाको बेलामा भक्तपुर डुवान हुने गरेको उनले बताए । भक्तपुरबाटै बागमती प्रदेश सभामा निर्वाचित किरण थापा मन्त्री रहेको बेलामै ती विकास निर्माणका अधकल्चो कामलाई पूरा गर्ने पनि उनले बताए ।

‘भक्तपुरको हनुमन्ते करिडोर नबनाउने कुरामा कांग्रेसको भूमिका हो । जगन्नाथ आचार्यजीको ५४ रोपनी जग्गा बचाउने नाममा त्यो बनेन । शुनिल प्रजापतीजीहरुले भक्तपुर नगरक्षेत्रमा करिडोर नबनाएको कारणले भक्तपुरक्षेत्र डुवान भयो, सागबारी क्षेत्र डुवान भयो । घट्टेखोला करिडोर क्षेत्रमा हामीले तीन वर्षदेखि पाँच–पाँच करोड बजेट छुट्याएका थियौं ।’ उनले भने, ‘तीन वर्षदेखि बजेट नछुट्याइएको कारणले आज त्यो एरियाका साथ सबै पीडित हुनुभयो । यो कांग्रेसको कारणले, यो माओवादीको कारणले, पाँच दलीय गठबन्धनको कारणले, एमालेविरुद्धको अभियानका कारणले भएको छ । त्यसकारण यी अधकल्चा योजनाहरुलाई फेरि बनाउने कुरामा किरण थापा (बागमतीका स्वास्थ्यमन्त्री) को कार्यकालाई हामी पूर्ण उपयोग गर्नेछौं ।’

साथै, आफूलाई केही मानिसहरुको अहिले कांग्रेस–एमालेको गठबन्धन छ, कांग्रेसको आलोचना नगर्नु भन्ने सुझाव दिएको उनले सुनाए । नेता बस्नेतले जोसुकै भएपछि स्वच्छ आलोचना भने गर्नुपर्ने बताए । ‘हिजो समयमै विकास देउ, एमालेको घरभित्रबाट ल्याएको होर ? भन्ने कांग्रेसहरु आज कुन दुलोमा लुकेर बसेको छन् ? आज समय कहाँ गयो ? हिजो २० करोड छुट्याइएको ठाउँमा आज कति पैसा छुट्याइएको छ ? हिजो हनुमन्तेमा दुई अर्ब छुट्याइएको थियो । आज हनुमन्तेमा कति पैसा छ ? तीन वर्षदेखि कांग्रेसले जितेको छ, अहिले पैसा किन छुट्याइएन ? कतिपय साथीहरुले भन्नुभयो–कांग्रेस र एमालेको गठबन्धन छ । यो कुरा चाहीँ महेशजीले नभनेको भए हुन्थ्यो भन्नुभयो रे । कांग्रेस र एमालेको गठबन्धन छ भन्दैमा कांग्रेसले गरेको गल्ती र कमजोरीको हामीले स्वच्छ आलोचना गर्नैपर्छ ,’– नेता बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्