काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले बाघको आक्रमणबाट घाइते भएका पशुपति श्रेष्ठको उपचार खर्च राज्यले ध्यान दिनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले चितवनको भरतपुर महानगरपालिकामा बाघको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको उपचारबारे सरकारको ध्यानाकार्षण गराएका हुन् ।
साथै, उनले विद्युत प्राधिकरणका सदस्यहरु कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले बर्खास्त गरेकोप्रति आपत्ति जनाए । नेता बरालीले बाघको आक्रमणसँगै जोड्दै आचार्य र पुन पनि घरेलुबाटको आक्रमणमा परेको टिप्पणी गरे । ‘हाम्रा पुर्खाले एउटा उखान जोडेका रहेछन्, चोरलाई चौतारो, साधुलाई सुली । यस्तै प्रकारको सुली हाल्ले काम घरेलु बाघबाट भएको छ । आक्रमणबाट विद्युत क्षेत्रमा कार्यरत कपिल आचार्य र भक्तबहादुर पुन पर्नुभएको छ । त्यो आक्रमणबाट उहाँहरुको जागिर नै खोसिएको छ,’– उनले भने ।
देश, जनता र प्राधिकरणको हीतको पक्षमा काम गर्दा आचार्य र पुनलाई कारबाही गरिएको उनले बताए ।