Logo

शेख हसिना देश छाडेर भागेपछि खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश



काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन्।

राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सोमबार गरेको प्रतिपक्षी दलका नेताहरु सम्मिलित बैठकमा यो विषय उठेको र पूर्वप्रधानमन्त्री जियालाई यथाशिघ्र छाड्ने निर्णय भएको बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले लेखेको छ ।

‘बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई हिरासतमुक्त गर्ने निर्णय पनि गरेको छ’, समाचारमा भनिएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्