Logo

बंगलादेशको सत्ता सेनाको हातमा जानबाट जोगियो, अन्तरिम प्रधानमन्त्री बन्दै नोबेल पुरस्कार विजेता मोहम्मद युनुस



काठमाडौं,२२ साउन । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोत भन्दै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए । सुरुमा उनको सो प्रस्ताव नमानेपनि देशमा शंनिक शासनको खतरा बढेपछि उनी अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत युनुसालाई सरकारको नेतृत्व गर्न अनुरोध गरेका थिए । समाचार एजेन्सी ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको थियो ।

सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्