Logo

रविले प्रतिवद्धता खोजेपछि ओलीले दोहोर्‍याएर भने: धर्तीको अदालतमा मात्र होइन्,चित्रगुप्ताको अगाडि भन्न तयार छु: म भ्रष्टाचार गर्दिन, सहन्न र गर्न दिन्न



काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूँ सदैव भ्रष्टाचारको विरुद्धमा काम गरिरहने प्रतिवद्धता जनाएका छन् । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले आफूसदैव भ्रष्टाचारको विरोधी रहेको बताए ।

प्रधानमन्त्री ओलीले जवाफ दिनुअघि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भनेर भनेपनि व्यवहारले त्यो प्रमाणित गर्न चुनौती रहेको र उनकै क्याबिनेटमका विभिन्न भ्रष्टाचारको काण्डमा जोडिएका हरु समावेश भएको भन्दै प्रश्न उठाएका थिए । रविप्रति इंगित गर्दै ओलीले आफूले कुनैपनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता जनाए ।

‘यस समितिसमक्ष म स्प्रष्ट गर्न चाहान्छु । पहिलेको जस्तै प्रतिवद्धता जस्तै हो कि भन्ने प्रश्न आएको छ । प्रतिवद्धता पहिलेजस्तै हो । मैले भ्रष्टाचार गरिन्, गर्दिन्, सहन्न, र गर्न दिन्न । मेरो नजर भन्दा बाहिरबाट भ्रष्टाचार हुन बेग्लै कुरा हो । राजनीतिक हिसावले कोही कसैमाथि लाञ्छित गर्नु,हिलोछ्याप्नु बेग्लै कुरा हो । म दावाका साथ भन्छु । यो धर्तीको अदालतमा मात्र होइन् कि चित्रगुप्ताका अगाडि पनि जवाफ दिन तयार छु । मलाई कुनैपनि धन आर्जन गर्नु छैन् ।  राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन ।’’उनले भने ।



प्रतिक्रिया दिनुहोस्