Logo

कांग्रेस-एमालेले संविधान संशोधन गर्न नसक्नेमा प्रचण्ड ढुक्क, जबरजस्ती गर्न खोजे सडकमा आउने चेतावनी



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले मिलेरमात्रै संविधान संशोधन हुन नसक्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्न विराटगर पुगेका प्रचण्डले प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलहरुको उपस्थितिको आधारमा कांग्रेस–एमालेले चाहेरमात्रै संविधान संशोधन हुन नसक्ने बताएका हुन् । उनले सरकारले जबरजस्ती गर्न खोजे विगतमा संसद् विघटन गर्दा र संविधान मिच्दाझै प्रतिवादमा उत्रिने बताए । संविधान संशोधनको दुस्शाहस नगर्न पनि उनले सरकारलाई चेतावनी दिए ।

‘दुईवटा पार्टी मिलेरमात्रै संविधान संशोधन गर्नसक्ने स्थिति छैन । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलहरुको जस्तो उपस्थिति छ, उनीहरुले मात्रै गर्दैमा संविधान संशोधन संविधानतः र कानुनतः हुनसक्ने स्थिति नै छैन । यसको कुनै तात्विक अर्थ यतिबेला छैन भन्ने मलाई लाग्छ ।’ उनले भने, ‘मैले बडो प्रष्टसँग भनेको पनि छु– त्यो दुस्साहस गरियो, जनताले प्राप्त गरेको समावेशिताको, समानुपातिकताको अधिकारलाई कटौती गर्ने दुस्साहस गरियो भने त्यो नेपाली जनतालाई सह्य हुन्न । हामीले विगतमा जस्तै संसद् विघटन गर्दा, संविधान मिच्न खोज्दा जसरी हामी सडकमा गएर त्यसको प्रतिवाद गरेको हो, हामी त्यसो गर्न बाध्य हुन्छौं । यो दुस्शाहस सरकारले नगरोस् भन्ने हाम्रो चाहना छ ।’

साथै, निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक छ भन्ने आफूहरुलाई पनि लागेको उनको भनाइ छ । तर, कांग्रेस–एमालेले सोचेको निर्वाचन प्रणाली संशोधनको मनशाय, स्पिरिट र माओवादीबीच १८० डिग्रीमै फरक रहेको उनले बताए । माओवादीले अझ बढी समावेशी, समानुपातिक बनाउनका निमित्त संविधान संशोधनको पक्षमा रहेपनि कांग्रेस–एमाले त्यसको विरोधमा रहेको पनि उनले बताए ।

आफूहरुले तत्कालीन संविधान सभामा नै रिजर्भेसन राखेको उनले सुनाए । नेपालजस्तो बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त हुन्छ भन्ने आफूहरुको मान्यता रहेको पनि उनले सुनाए । अहिले दुई पार्टी भनेर कांग्रेस–एमालेले पश्चिमा डेमाक्रेशीको नक्कल गर्न खोजेको उनको आरोप छ ।

साथै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने मान्यता माओवादीमा अहिले पनि कायम रहेको र त्यतिबेला पनि संविधान सभामा रिजर्भेसन राखेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्