काठमाडौँ, २२ साउन । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।
त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।
त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आजै हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनल खेल आज सवा ५ बजेदेखि सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल