काठमाडौं, २३ साउन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै नभएर विश्वलाई नै पाठ सिकाएको टिप्पणी गरेकी छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतालाई दबाउने, बेथिति गर्ने र सुशासन नदिने हो भने विकास र समृद्धि रटेरमात्रै नहुने बताएकी हुन् । उनले बंगलादेशको घटनाबाट जनता, जनार्दनभन्दा ठूलो कोही छैन भन्ने सन्देश लिन आवश्यक रहेको बताईन् ।
‘बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै होईन, संसारलाई नै पाठ सिकाएको छ । हामीलाई पनि विशेष पाठ सिकाएको छ । समृद्धि र विकासमात्रै रटेर हुँदैन । जबसम्म जनता सन्तुष्ट हुँदैनन्, जनतालाई दवाउने, बेथिति गर्ने, सुशासन नदिने हो भने जनता, जनार्दनभन्दा ठूलो शक्ति केही छैन है भन्ने पाठ हामीले सिकेका छौं,’– उनले भनिन् ।
साथै, आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने बताउँदै उनले बंगलादेशको घटनाबारे पनि छलफल हुने बताईन् । उनले आजको केन्द्रीय समिति बैठकमा महासमितिको बैठकबाट परिमार्जनसहित पारित भएको विभिन्न प्रस्तावहरुमाथि छलफल हुने बताईन् । त्यस्तै, देशको समसामयिक राजनीतिक घटनाबारे पनि छलफल गरिने उनको भनाइ छ ।
‘महासमिति बैठकमा नीति सम्बन्धी प्रस्ताव, सांगठनिक, समसामयिक र आर्थिक प्रस्ताव पेश भएको थियो । महासमितिका सदस्यले दिएको सुझावसहित यसमाथि छलफल छ । हाम्रो जतिपनि भातृ संघ÷संस्था छन्, तिनको अधिवेशन हुन सकेको छैन । निर्देशक समिति बनाएर तिनलाई अधिवेशनतर्फ लैजाने भन्ने छ । अहिलेको समसामयिक राजनीतिलाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल हुन्छ,’– उनले भनिन् ।