Logo

टीआरसी विधेयकलाई समिति र संसद्मा यसैपटक लैजान प्रचण्डको आग्रह



काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकलाई यसैपटक संसदीय समिति र संसद्मा लैजान आग्रह गरेका छन् । आज (बुधबार) कार्यदलमा सहमति जुटेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सहभागी भएका प्रचण्डले आम नेपाली जनतालाई शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खोल्न टीआरसी विधेयक चाँडै टुङ्ग्याइनुपर्ने बताएका हुन् ।

‘कार्यदलले धेरै मेहनत गरेर निश्कर्षमा पुर्याएको छ । प्रतिवेदन बुझाइएको छ । अब यसलाई वैधानिक प्रक्रियाबाट संसद्को समितिमा र फुल हाउसमा पनि यसैपटक जाओस् र यसलाई टुङ्ग्याइयोस् । आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ । सरकारसँग र सम्बन्धित मन्त्रीलाई यसको लागि विशेष आग्रह गर्न चाहन्छु,’– उनले भने ।

लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निश्कर्ष दिन कठिन भएको विषयलाई कार्यदलले सहमतिमा पुर्याएको भन्दै प्रचण्डले धन्यवाद पनि दिए । शान्ति, स्थिरता र समृद्धिको पक्षमा रहेका समग्र नेपालीहरुका लागि टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको कुरा रहेको उनले बताए ।

प्रचण्डले टीआरसी विधेकका सन्दर्भमा कार्यदलमा सहमति जुट्नु नयाँ सरकार गठन भएदेखिको राम्रो कामको रुपमा व्याख्या गरे । उनले आफू प्रधानमन्त्री रहेको बेला बालुवाटारमा दलका नेता र सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र कार्यदल बनाएको स्मरण गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्