Logo

प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताको एकस्वर: टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं



काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाइएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए । संसद्को समितिमा विचाराधीन विधेयकमा छलफल गर्न बाँकी रहेको चार विषयमा सहमति खोजिएको उनले जानकारी दिए । संक्रमणकालीन न्यायका विषयमा उनले ब्रेक थ्रु भएको पनि बताए । शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुगिएको उनको भनाइ छ ।

प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताले संसद्को चाचलु अधिवेशनबाटै सारित गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो सहमति नेताहरुका लागि मात्र खुसीको विषय नभएको बताए । उनले भने, ‘यसलाई मैले नयाँ सरकार बनेपछि भएको एउटा राम्रो काम ठानेको छु ।’

उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्न समेत आग्रह गरे । ‘यसपटक फूल हाउसमा जाओस् र यसलाई टुंग्याइयोस् भन्ने मेरो चाहना छ । म सरकारसँग यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु ।’

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउँदा विश्वका लागि अनुकरणीय हुने बताए । उनले भने, ‘यो काममा सबैलाई सफलता मिलोस् ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति टर्निङ प्वाइन्ट भएको बताए । ‘अब कानुनका हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ताहरुको खोजबीन र सत्य निरुपणलाई अन्तिम रुप दिने कानुनी अन्यौल छैन, दुविधा छैन’, उनले भने ।

ओलीले संसद्को चाचु अधिवेशनबाटै विधेयक पास गर्ने र यसमा कुनैपनि विलम्व गर्नुपर्ने आवश्यक्ता नरहेको बताए । सरकारले यसै अधिवेशनबाट यो विधेयक पारित गर्ने तयारी गरेको छ । विधेयक पारित गर्नकै लागि चालु अधिवेशन अन्त्य नभएको सत्तारुढ दलका नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्