Logo

टीआरसी विधेयकलाई तुरून्तै पारित गरेर कार्यान्वयनमा लगिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता



काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयकलाई तुरुन्तै पारित गरेर कार्यान्वयनमा लगिने बताएका छन् । आज (बुधबार) कार्यदलमा जुटेको सहमतिको प्रतिवेदन बुझाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीआरसी ऐन कार्यान्वयनका लागि नै बन्न लागेको बताएका हुन् ।

‘यो ऐन बन्नका लागि बनेको होईन, कार्यान्वयनको लागि बनेको हो । अब हामी तुरुन्तै संशोधनलाई पारित गर्छौं र यसलाई कार्यान्वयनमा लैजान्छौं,’– प्रधानमन्त्री ओलीले भने ।

संसद्बाट पारित गरेर विधेयक ऐन बनिसकेपछि कार्यान्वयनका क्रममा गर्नुपर्ने अन्य कामहरु आयोगहरुको गठन, पुनर्गठन र निर्माण पनि सहमति र परामर्शका साथ नै अगाडि बढाइने उनले बताए । साथै, विधेयक पारित गराउन सबैको भूमिका उत्तिकै आवश्यक रहेको उनले बताए । ‘कानुन पास गर्दा हामी सबैको भूमिकाको आवश्यकता छ । यसलाई हामी सहकार्य र सहमतिका साथ विना बिलम्ब नै अगाडि बढाउँछौं । यसमा विलम्ब गर्नु उचित हुँदैहुँदैन । यो धेरै वर्ष भइसक्यो,’– उनले भने ।

परिपुरण प्राप्त गर्नुपर्नेले प्राप्त गर्ने र हरेक व्यक्ति सन्तुष्ट भन्ने तहमा पुर्याएर समस्या समाधान गरिने उनको भनाइ छ । उनले नेपाललाई शान्ति चाहिएको र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्ने कुरामा आफूहरु सजग रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्