Logo

कांग्रेसको केन्द्रीय समिति बैठक सुरू, यस्ता छन् छलफलका एजेण्डा



काठमाडौं,२३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । आज देखि शुरू हुने बैठकमा मुख्य ६ एजेन्डामा छलफल हुने भएको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिने, आन्तरिक संरचनालाई प्रभावकारी बनाउने, केन्द्रदेखि प्रदेशका सरकारलाई व्यवस्थित रूपमा चलाउनेसहितका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकपूर्व सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको थियो ।

गत फागुनमा सकिएको महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिएर पारित गर्ने, भ्रातृ संस्थाको अधिवेशन सुनिश्चित गर्न छुट्टा–छुट्टै निर्देशक समिति गठन गर्ने तयारी गरेको केन्द्रीय कांग्रेसले जनाएको छ ।

त्यस्तै, पार्टी संगठनका लागि ४ महिने अभियान चलाउने, केन्द्रदेखि प्रदेशसम्मका सरकारलाई प्रभावकारी बनाएर नागरिकको निराशा चिर्ने, जिल्लामा रिक्त पदाधिकारी र विभिन्न सदस्यको टुंगो लगाउने तथा अनुशासन समितिको कामको विषयमा मुख्य छलफल गर्ने एजेन्डा रहेको छ ।

वर्षौंदेखि अलपत्र परेका पार्टीका भ्रातृ संस्थाको अधिवेशन गरेर व्यवस्थित गर्ने विषय कांग्रेस बैठकको अर्को प्रमुख एजेन्डा बनेको छ ।

पछिल्लो समय संगठनमा सुस्तता आएपछि कांग्रेसले संगठनलाई चुस्तदुरुस्त राख्न भन्दै ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई ४ महिना खटाउने भएको छ । यससम्बन्धी औपचारिक निर्णय कांग्रेसको बुधबारदेखि बस्ने बैठकले गर्दैछ ।

कांग्रेसले पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय समिति सहितमा रिक्त रहेका पदमा पदपूर्ति गर्ने तयारी पनि गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनमा भएका अन्तर्घातसहितका विषयमा छानबिन गर्न बनेको अनुशासन समितिको रिपोर्टबारे पनि छलफल गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्