Logo

प्रधानमन्त्री ओलीलाई धमलाको सुझाव: भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउनुस्, इतिहासमा नाम लेखाउनुस्’



काठमाडौं, २३ साउन । बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ ।

बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले नेताहरुले जनतालाई अवमूल्यान गर्न नहुने बताए । उनले नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने र इमानदार भएर देश र जनताको पक्षमा काम गर्नुको विकल्प नरहेको बताए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्ने मौका रहेको पनि उनले बताए । उनले जनतालाई डेलिभरी दिनसक्ने गरी काम गर्न सरकारलाई आग्रह गरे ।

‘अहिले कांग्रेस–एमालेलाई मौका आएको छ । दुई तिहाइ बहुमतको सरकार छ । केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सारथी हुनुहुन्छ । सरकारले जनतालाई डेलिभरी दिनुपर्यो । जनताको माग सम्बोधन गर्नुपर्यो,’– उनले भने ।

साथै, अहिले राजनीतिक दल र नेताहरुले समानुपातिकको नाममा नातागोता, सालासाली र आफ्ना मान्छेलाई सांसद बनाउने गरेको धमलाले टिप्पणी गरे । अब योग्य मान्छेलाई समानुपातिकमा मौका दिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन अनुरोध गरे । उनले भ्रष्टाचारी जुनसुकै दलको भएपनि कारबाहीको दायरामा ल्याएर इतिहासमा नाम लेखाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्