Logo

नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्: प्रा.डा.सुरेन्द्र केसी



काठमाडौं, २३ साउन । बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ ।

बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरे । प्रा.डा. केसीले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमा नलिएको बताए । ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’– उनले भने ।

बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ । हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको उनले टिप्पणी गरे । आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ ।

साथै, हसिनाको कूटनीतिका दृष्टि भारततर्फ झुक्दा बंगलादेशका कट्टरपन्थीहरुलाई राम्रो नलागेको पनि उनले बताए । प्रा.डा केसीले अब नेपाली जनताले पनि आफूलाई परिमार्जन गर्न जरुरी रहेको बताए । उनले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे । तर, उनले त्यस्तो प्रकारको जनभावनालाई ‘उत्तेजक दृष्टिकोण’ को संज्ञा दिए । नेपालीहरुले बंगलादेशको जस्तै दुर्घटना ननिम्त्यिाएर त्यसबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ ।

‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ । किनभने हामीले धरै कुरा देख्यौं नि त । नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौं नि ।’ उनले भने, ‘नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो । त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन् । मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ । त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो ।’



प्रतिक्रिया दिनुहोस्