Logo

केही बंगलादेशीमा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले यस्तो घट्ना घट्योः पूर्वराजदूत डा.वंशिधर मिश्र



काठमाडौं, २३ साउन । बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ ।

बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको बताए । हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको उनको दाबी छ । ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैं पनि बलिदानी परिवारको छोरी हुन्,’– मिश्रले भने ।

साथै, केही बंगलादेशीामा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले अहिलेको घटना घट्न पुगेको उनको दाबी छ । उनले आरक्षणको कारणले अहिलेको घटना नभएको दाबी गरे । ‘यो कुनै आरक्षण र युवा विद्यार्थीको कारणले भएको घटना होईन । विद्यार्थी निहुँ भए,’– उनले भने ।

हसिनाको पालामा बंगलादेशले मुहार फेरेपनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको आरोप छ । बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए । सरकारको विरुद्धमा लेख्नेहरु बेपत्ता बनाइने र महिनौंपछि लाश फेला पर्ने जस्ता घटना बंगलादेशमा भइरहेने उनले बताए ।

‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । वुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो,’– उनले भने ।

साथै, बंगलादेशको सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए । नेपाली विद्यार्थी बंगलादेश अध्ययनको क्रममा जाँदा एयरपोर्टदेखि नै पीडित हुनुपरेको उनले सुनाए । सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकतामात्रै रहेको बताए । ‘बंगलादेशको तीन वटा चुनाव सन् २०१४, २०१९ र २०२४ को चुनाव चुनाव नै होईन,’– उनले भने ।

साथै, नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक परिवर्तन हुन नसकेको उनको भनाइ छ । मिश्रले नेपालका नेताहरु एकदमै पाखण्डी बनेको, एकथोक बोलेर अर्कोथोक गरेको आरोप लगाए । बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने उनको भनाइ छ । जनतालाई दिएको वचन, वाचा र जल्दाबल्दा समस्यालाई सम्बोधन गर्नेगरी नेताहरुले आफूलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए ।

‘हाम्रोमा राजनीतिक परिवर्तन त भयो । तर, आर्थिक–सामाजिक परिवर्तन भएन । नेताहरु पाखण्डी भए । बोल्ने एकथोक, गर्ने अर्कोथोक,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्