काठमाडौं, २४ साउन । नेपाली कांग्रेस मधेश प्रदेश सूचना सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले डा.सिके राउतको सचिवालयले समाजिक सञ्जालमार्फत जारी गरेको पोष्टप्रति आपत्ति जनाएका छन् । मधेश प्रदेश सरकारमा ठूलो मन्त्रीमण्डल विस्तारपछि भईरहेको विवाद पछि जनमत पार्टीका अध्यक्ष राउतको सचिवालद्धारा समाजिक संजालमा “यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन” भनी पोस्ट गरिएको थियो ।
गुप्ताले उक्त पोष्टप्रति कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागको गम्भीर ध्यानाकर्षण भएको र उक्त भ्रामक पोष्ट आपत्तिजनक रहेको बताए । ‘मधेश सरकारमा कति जना मन्त्री राख्न सकिन्छ ? त्यसको एउटा मापदण्ड होला, तर जनमतले आफनो नेतृत्वमा सरकार टिकाउनका लागि यत्रो ठूलो मन्त्रीमण्डल विस्तर गरे । चौतफी रुपमा विरोध सुरु भएपछि गठबन्धनमा सहभागी नेपाली काँग्रेससहित दुई ठूला दलमाथि दोषारोपण गर्नु दुर्भाग्यपूर्ण छ,’– उनले भने ।
कांग्रेस सूचना सञ्चार विभाग प्रमुख गुप्ताले समाजिक संजालमा यसरी दुई ठूला दलमाथि दोषारोपण गरेर सिके राउतको सचिवालले के सावित गर्न खोजिएको हो ? भन्दै प्रश्न गरे । गुप्ताले विकास सहित समग्र हितका लागि कांग्रेस कुनैपनि स्वार्थमा नलागी निरन्तर अघि बढिरहेको समेत बताए ।