Logo

पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीमाथि उठाए प्रश्न, फरक व्यवहार देखाएको आरोप



काठमाडौं, २४ साउन । पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् । पूर्व अर्थमन्त्री पुनले आज (बिहीबार) अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको र आफूनिकट प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा खुकुलो मौद्रिक नीति लिएको बताएका हुन् ।

‘पछिल्लो समय गभर्नरसाबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।अहिले आफू निकट सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो,’–उनले भने ।

साथै, उनले पुँजी बजारलाई व्यवस्थित बनाएर शेयर कारोबार गर्नका लागि तत्काल धितोपत्र बोडैको अध्यक्ष नियुक्त गर्नुपर्ने बताए । उनले कुनै चलखेल बदमासी नगरी योग्य व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पनि सरकारसमक्ष आग्रह गरे । उनले गभर्नरले धितो कारोबारमा सुधारको नीति अवलम्बन गर्न नसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्