Logo

देशका २० जना विचौलियाहरुलाई कारबाही नगरेसम्म केही हुँदैनः अमरेशकुमार सिंह



काठमाडौं, २५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले कांग्रेस–एमाले गठबन्धन सरकारको पालामा पनि देशले निकास नपाउने टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको सिस्टम नै राजनीतीकरण र फेलियर रहेको बताए । कर्मचारीतन्त्र, सुरक्षा निकाय, व्यापारीदेखि सबै निकायमा राजनीतीकरण भइरहेको उनको भनाइ छ । यस्तो अवस्थामा केपी शर्मा ओली प्रधानमन्त्री बनेर देशले निकास नपाउने उनले सुनाए ।

यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिने निर्देशनले कुनै काम गर्न नसक्ने उनको भनाइ छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले पनि थुप्रै पटक निर्देशन दिएको स्मरण गराउँदै उनले कुनै काम हुन नसकेको बताए । ‘जबसम्म नेपाली जनताको विश्वास यहाँको राजनीतिक दल, प्रशासन र संयन्त्रमाथि बढ्दैन, देशमा केही हुँदैन । जो पनि सरकारमा आउने, जागिर खाने, कमाउने, भ्रष्टाचार गर्ने र जाने त्यतिमात्रै काम हो,’– उनले भने ।

उनले नेपालमा ठूला–ठूला भ्रष्टाचार दलको आवरणमा भइरहेको बताए । अहिले चारैतिर विचौलियाको विगविगी रहेको उनको टिप्पणी छ । उनले नेपालमा अहिले राजनीतिक दललाई नै प्रभावमा पार्न सक्ने २० जना विचौलिया रहेको दाबी गर्दै उनले तिनीहरुलाई कारबाही गर्न नसकेसम्म केही नहुने बताए ।

‘यो देशमा २० जना विचौलिया छन्, जुन यो देशको धमिरा हो । जसले नेतालाई आफ्नो प्रभावमा राखेर देशलाई जहिले पनि दिनप्रतिदिन पछाडि पारिरहेका छ । कुशासन गरिरहेको छ, तिनीहरुलाई दण्डित गरिएन भने केही हुँदैन,’– उनले भने ।

साथै, नागरिक उड्डयन प्राधिकरणका डीजी प्रदीप अधिकारी नहटेसम्म नेपालको हवाइ क्षेत्र सुरक्षित नहुने उनको भनाइ छ । तर, डीजी अधिकारीलाई हटाउने हैसियत वर्तमान सरकारले नराख्ने उनले बताए । अघिल्लो सरकारले पनि डीजी अधिकारीलाई हटाउन नसकेको उनले बताए । जुन मन्त्रीले डीजी अधिकारीलाई हटाउन खोज्यो उसैको पद धरापमा परिरहेको नेता सिंहको भनाइ छ । डीजी अधिकारीले करोडौं रुपैयाँ दललाई बाँड्ने गरेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्