Logo

नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा देवेन्द्र पौडेल सहमत, माओवादीले ‘ब्रेक थ्रू’ गर्ने दाबी



काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पार्टीले नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ३०/४० वर्षदेखि केन्द्रीय समितिमा नेताहरु बसिरहने युवाहरुलाई भूमिका नदिने कुराको ब्रेक थ्रू माओवादीले गर्ने बताएका ह्न् । युवाहरुले संसार र अहिलेको अवाश्यकता बुझेको बताउँदै नेता पौडेलले युवालाई नेतृत्वमा ल्याउने कुरामा बहस आवश्यक रहेको बताएका हुन् । उनले माओवादीमा युवालाई नेतृत्वमा ल्याउनेबारे बहस सुरु भइसकेको र अब महाधिवेशनमा यस विषय टुङ्गो लाग्ने उनले बताए ।

‘कुनै पनि दलको सिनियरको नाममा केन्द्रीय कमिटीमा ३० /४० वर्ष बसिरहने, नयाँ पुस्तालाई जिम्मेवारी दिने कुरामा अवरोध सिर्जना गरेर ल्याउन नदिने नेपालको राजनीतिमा देखा परेको छ । त्यसलाई ब्रेक थ्रू गर्नका निमित्त यो बहसको आवश्यकता छ । अहिले बहालवाला विभिन्न पार्टीका नेताहरु ३०/४० वर्ष पहिला युवा नै भएर केन्द्रीय कमिटीमा पुगेका थिए । अहिलेका युवाहरुलाई जो अहिलेको संसार बुझिरहेका छन्, अहिलेको आवश्यकता बुझिरहेका छन् । युवाहरुलाई नेतृत्वमा ल्याउने कुराको बहस आवश्यक छ । हाम्रो दलभित्र त्यो बहस सुरु भएको छ । महाधिवेशनमा गएर हामी त्यसलाई टुङ्गो लगाउँछौं,’– उनले भने ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी र आन्दोलनको नेतृत्व तेस्रो पुस्तालाई दिनुपर्ने प्रस्ताव राखेका थिए । पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ संरक्षकको भूमिकामा बस्नुपर्ने र अरु पदाधिकारीहरु सल्लाहकार बनेर तेस्रो पुस्तालाई आन्दोलन हाँक्न दिनुपर्ने उनको भनाइ थियो । उपमहासचिव शर्माको प्रस्ताव स्वीकार गर्दै उनले त्यो आवश्यक रहकेो बताए ।



प्रतिक्रिया दिनुहोस्