Logo

जम्बो मन्त्रिपरिषद् गठन गरेपछि जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण



काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्प्रष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्मा आवश्यकता भन्दा बढी सदस्य राखेको भन्दै जनमतले प्रष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंह जनमत पार्टीबाट मुख्यमन्त्री बनेको व्यक्ति हुन् ।

सिंहले गत मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश सरकारलाई २० सदस्यीय बनाएका थिए । यो संघीयतापछिको सातै प्रदेशमध्येको सबैभन्दा ठूलो सरकार हो । यसअघि तत्कालीन बागमतीका मुख्यमन्त्री राजेन्द्र पाडेले १८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत छ ।

मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक-एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।

मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी छन्।



प्रतिक्रिया दिनुहोस्