Logo

संसद्को आगामी बैठकमा टीआरसी विधेयक पेश गर्न पत्राचार



काठमाडौं,२५ साउन । संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा वेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई संसद्को आगामी बैठकमा पेश गर्न पत्राचार गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर समितिकी सभापति विमला सुवेदीसहितको टोलीले संसदीय समितिबाट सर्वसम्मतरुपमा पारित भएको विधेयक पहिलो बैठकमा नै पेश गर्न भनेकी हुन् । प्रतिनिधि सभा बैठक साउन २९ गतेका लागि डाकिएको छ ।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो ।

प्रतिनिधि सभामा केही दिन छलफल गरेर यो विधेयक पारित गर्ने तयारी छ । प्रतिनिधि सभाले पारित गरेपछि सो विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि सो विधेयकले कानूनको रुप लिनेछ ।



प्रतिक्रिया दिनुहोस्