Logo

विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवामा जगाउनुपर्छः महामन्त्री थापा



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् । कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा बालकोटमा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनुपर्ने बताए ।

‘स्वदेश मै केहि गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन्, केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केहि पनि भएन भन्ने होइन,’– उनले भने ।

उनले देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए । विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए । उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने तयारी बताए ।

सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेता रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गरे ।

कार्यक्रममा गणेश आधारभुत विद्यालय बालकोटका १०८ बालबालिकालाई झोला एवं शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्