काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीयष् परिपाटीबाट प्रदुषित भएको बताएका छन् । आज (शनिबार) पार्टीको स्थायी कमिटी बैठकमा उनले प्रदुषणलाई मुक्त गर्न सुद्धीकरण अभियान चलाउनुपर्ने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
‘उहाँले हाम्रो पार्टीलाई सुदृढीकरण गर्नुपर्छ । राष्ट्रियताको हिसाबले, लोकतन्त्रका सम्बन्धमा र जनताको जनजीविकाको सम्बन्धमा परिस्थिति जटिल र पेचिलो हुँदैछ । जटिल परिस्थितिको सामना गर्नका लागि पार्टी नै सवल, सक्षम र सुदृढ हुनुपर्छ । सुदृढ बनाउनका लागि सुद्धीकरण अभियान चलाउनुपर्छ ।’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदुषित भएका छौं । त्यो प्रदुषणबाट आफूलाई मुक्त पार्नका लागि सुद्धीकरण अभियान चलाउनुपर्छ । यस गर्नका लागि सदनमा भएको शक्तिलाई पनि प्रभावकारी बनाउने, सदन र सडकलाई जोड्नेगरी स्पष्ट नीति, योजना र नयाँ कार्यक्रमसहित जनतामा जानुपर्छ भन्ने कुरा जोड दिएर राख्नु भएको छ ।’
बैठकको सुरुवातमा अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र पार्टीको कार्यभारबारेमा धारणा राखेका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुन, प्रवक्ता सापकोटा, सचिवहरु गणेश शाह, देवेन्द्र पौडेल, चक्रपाणि खनालले धारणा राखेका थिए । स्थायी समिति सदस्यहरु पर्शुराम तामाङ, सुरेन्द्र कुमार कार्की, गणेशमान पुन, कूलप्रसाद केसी र अमृता थापामगरले पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।