Logo

प्रभु साहको गम्भीर आरोपः ‘कांग्रेस-एमालेका नेताहरु विदेशीको एजेण्ट बनेर काम गर्दैछन्’



काठमाडौं, २७ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले कांग्रेस–एमालेका नेताहरुले विदेशीको एजेण्ट बनेर काम गरिरहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । नेता साहले नेपाली जनताले ल्याएको लोकतन्त्र नेताहरु मिलेर दलतन्त्रमा रुपान्तरण गरेको बताए । उनले त्यही दलतन्त्र पनि कांग्रेस–एमाले मिलेर मासिसकेको टिप्पणी गरे ।

‘नेपाली जनताले लोकतन्त्र ल्याए । तर, नेताहरु मिलेर त्यसलाई दलतन्त्र बनाए । देखाउने दाँतमात्र लोकतन्त्र भयो । चपाउने दाँत दलतन्त्र भयो । दलतन्त्र पनि आज दुईवटा पार्टी मिलेर मास्दैछन् । ती दुईवटा पार्टीका नेताहरु विदेशी एजेण्टको काम गर्दैछन् ।’ उनले भने, ‘नेपालको अस्तित्व रहन्छ कि रहँदैन भन्ने प्रश्न हाम्रो अगाडि खडा छ । नेपालका नेता नेता हो कि कुनै विदेशी एजेण्ट हो भन्ने प्रश्न खडा भएको छ । ती नेपाली जनतासँग डराउँदैनन्, डराउँछन् आफ्ना मालिकसँग । जबसम्म नेपाली शासक जनतासँग डराउँदैन, जनताको आदेशलाई शीरोधार्य गर्दैन, तबसम्म नेपालको प्रगति हुँदैन । आज त्यो स्थिति नेपालमा छ ।’

उनले नेपालमा काहीँ नभएको संघीयता खडा गरिएको टिप्पणी गरे । तीन तहको सरकार काहीँ पनि नरहेको बताउँदै उनले स्थानीय तह पनि आवश्यकताभन्दा बढी भएको बताए । तीन करोड जनसंख्या रहेको देशमा यतिधेरै स्थानीय सरकार आवश्यक नरहेको उनले बताए । नेता साहले प्रदेश सरकार बनाउने अधिकार नै केन्द्रमा रहेको बताए । उनले अधिकारविहीन र अस्तित्वविहीन संघीयता बनाइएकाले नेपालमो संघीयता बदनाम भएको टिप्पणी गरे ।

साथै, समानुपातिक समावेशीको अधिकार पनि शासक जातिले नै कब्जा गरेको उनको आरोप छ । नेता साहले समानुपातिक कोटाबाट अहिले सामाजिक, आर्थिक र जातीय दृष्टिकोणमा माथि रहेका मानिसहरुले अवसर पाएको बताए ।

उनले राज्यको उपस्थिति भएको ठाउँमा नै बेइमानी भइरहेको बताए । नेता साहले नेपालको नेतृत्वहरु बेइमानी र चोर रहेको टिप्पणी गरे । नेपालको नेतृत्वमा रहेकाहरुले राज्यबाट लुटेर विदेश लगिरहेको आरोप लगाए । ‘अहिलेको राज्यको चरित्र भनेको लुटकारी भयो । लुट्ने र लुटेर विदेश लाने । अंग्रेजहरुको चरित्र इन्डियालाई लुट्ने र बेलायत लाने थियो, अहिले नेपाली टोपी लगाएका नेपाली अनुहारका मानिसहरुले लुटेर विदेश लाने काम गरिरहेकाले छदमभेषी भयो । मान्छेलाई चिन्न गाह्रो भइरहेको छ,’– उनले भने ।

साथै, उनले अहिले देशको राज्यसत्ता विदेशी एजेण्टहरुले चलाइरहेको गम्भीर आरोपसमेत लगाएका छन् । उनले नेपालको राज्यसत्ता विदेशी दललाहरुले चलाइरहेको छ भन्ने कुरामा कन्फ्यूज हुन जरुरी नरहेको बताए । नेता साहले भने, ‘नेपालको सरकार दलालहरुले चलाइरहेका छन्, विदेशी एजेण्टहरुले चलाइरहेका छन्, यसका काहीँ कन्फ्यूजन नहुन म आग्रह गर्न चाहन्छु । यो स्थितिलाई हामीले कसरी बदल्ने ? यो स्थिति यथावत रह्यो भने हामी हाम्रो भविष्य अगाडि बढाउन सक्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्