Logo

देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रस्ताव सुन्दर छ, तर व्यवहारिक छैनः मीनबहादुर विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बन्न नपाउने प्रस्ताव सुन्दा सुन्दर भएपनि व्यवहारिक नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै सुन्दर प्रस्ताव व्यवहारिक नहुने बताएका हुन् । कांग्रेस महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको सांगठनिक प्रस्तावमा उक्त कुरा उल्लेख छ । महासमिति बैठकमा परिमार्जनसहित पारित भएको उक्त प्रतावमाथि अहिले पार्टीको केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको छ ।

महामन्त्री शर्माको प्रताव पारित गरेर नीति बनाउन नसकिने तर्फ लक्षित गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘उहाँहरुले ल्याउनुभएको कुरा सुन्दर छ, सबैलाई सुनौं–सुनौैं लाग्ने प्रस्ताव छ । तर, सबै सुन्दर प्रस्तावहरु व्यवहारिक हुँदैनन्, व्यवहारिक कुराहरु सबै सुन्दर हुँदैनन् । उहाँहरुले ल्याएको कुरा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री, चार पटक सांसद भन्ने सुन्दा त यो गीत, कविता बनाउन लायकको छ, राम्रो छ । तर, उहाँहरुकै जीवनमा, स्वयं पार्टीको जीवनमा कतिबेला के हुन्छ ? राजनीति भनेको सेट फर्मुलामा अगाडि जाँदैन । राजनीतिक परिस्थितिहरु क्षणक्षणमा बद्लिदै जान्छ । आवश्यकताले के भन्छ ? त्यतिबेला के आवश्यकता पर्छ ? त्यो अनुसार हुने हो ।’

नेता विश्वकर्माले बंगलादेशका मोहम्मद युनुसले सरकार प्रमुख हुने कहिले पनि परिकल्पना नगरेको बताउँदै प्रधानमन्त्री बन्ने कुरा व्यक्तिको निजी विचार र आकांक्षामा भन्दा पनि मुलुकको परिस्थिति र राजनीतिक आवश्यकताले निम्त्याउने बताए । ‘यी प्रस्तावहरु सुन्दा सुन्दर छन् । तर, पारित गरेर नीति बनाउँदाखेरी पछि आफैंलाई अप्ठ्यारो पर्ने भएको हुनाले छलफल चलिरहेको छ । हामी निर्णयमा पुग्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्