Logo

एमाले महासचिवको स्वीकारोक्तिः ‘उद्योगी, व्यवसायीकै चाहनाअनुसार कांग्रेस-एमालेको सरकार बन्यो’



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्योगी, व्यवसायीको चाहनाअनुसार नै अहिलेको सरकार बनेको स्वीकार गरेका छन् । आज (सोमबार) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगी, व्यवसायीहरुले मुलुकको आर्थिक गतिरोध तोड्न ठूला दलहरु मिलुन् भन्ने चाहना राखेको बताए । उनले मुलुकको आर्थिक क्रियाकलाप अवरुद्ध भएको बेला आफूहरुले व्यवसायीको कुरा सुनेको बताए ।

‘उद्योगी व्यवसायीहरुको भनाइ पनि के रह्यो भन्दाखेरी प्रमुख पार्टीहरु नमिल्दासम्म अहिलेको आर्थिक गतिरोध तोडिँदैन भन्ने खालको सोचले पनि प्रमुख पार्टीहरु मिल्ने वातावरण तयार गर्यो । कतिपयले आलोचना पनि गरेका छन्, व्यापारीहरुले मिलाए भन्छन् । त्यसमा लुकाउनुपर्ने विषय छैन । मुलुकको आर्थिक क्रियाकलाप अवरुद्ध भएको बेला व्यवसायीको कुरा पनि हामीले सुनेकै हो । उनीहरुको मनोबल नबढाई मुलुकको अर्थतन्त्रमा सुधार हुँदैन । त्यस हुनाले हामीले उद्योगी व्यवसायीहरुको कुरा सुनेकै हो । सुनेरै हामीले प्रमुख पार्टी मिल्नुपर्ने आवश्यक्ता महशुस गरेको हो,’– उनले भने ।

साथै, उनले वर्तमान सरकार बनेसँग राज्यका विभिन्न क्षेत्रमा सुधार देखिँदै गएको बताए । उनले शेयर बजार बढिरहेको र प्रशासनिक क्षेत्रमा समेत सुधार भइरहेको बताए । देशको अर्थतन्त्र अहिले पनि संकटकै अवस्थामा रहेको बताउँदै उनले अर्थतन्त्र सुधार वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको बताए । वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई पनि सँगै लिएर गएको बताए ।

उक्त कार्यक्रमा नेकपा (माओावादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमाले प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्