Logo

प्रधानमन्त्रीले जसरी लाइन जोड्न निर्देशन दिनुभएको थियो, वक्यौता उठाउन पनि निर्देशन दिनुपर्योः हरि ढकाल



काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले डेडिकेटेड ट्रङ्क लाइन विवादमा बक्यौता तिर्न बाँकी उद्योगहरुको विजुली जोड्न निर्देशन दिने प्रधानमन्त्रीले बक्यौता उठाउन पनि निर्देशन दिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

‘विषय भ्रष्टाचार नै हो, महशुल नै हो, विजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिर्नुपर्ने उद्योगीहरुले तिर्न पर्ने छैन भनेका पनि छैनन् । म सरकारलाई गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु– प्रधानमन्त्रीज्यूले जसरी विजुलीको लाइन जोड्न निर्देशन दिनुभएको थियो, महशुल उठाउनका लागि पनि उसैगरी निर्देशन दिनुपर्यो । मिटर जडान गरिएको ठाउँको महशुल उठाउनका लागि यो हालत छ यो देशमा, मिटर नभएका भन्सार, मालपोत कार्यालय हेरौं त ? के छ हालत ?’ उनले प्रश्न गरे ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले छ वटा उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि काटिएको लाइन जोडिएको थियो । विभिन्न उद्योगहरुले डेडिकेटेड ट्रङ्क लाइन विवादमा प्राधिकरणलाई २२ खर्ब भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्