Logo

संसद्मा गगनको गर्जनः कसैको आदेशले हुँदैन, विजुलीको वक्यौता एक सुका पनि छोड्न पाइँदैन



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले विजुलीको बक्यौता एक सुका पनि छोड्न नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको आदेशले विद्युत वक्यौता छुट दिन नसकिने बताएका हुन् । उनले २०८० पुसमा विद्युत वक्यौताबारे छानविन गर्न तत्कालीन सरकारले लाल आयोग बनाएको र २०८१ वैशाखमा आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता दिनुपर्ने बताए ।

‘सरकार त निरन्तरता हो । यो भन्दा अगाडिको सरकारले बनाएको आयोगको प्रतिवेदनलाई टेक्नैपर्छ । अदालतका आदेशलाई टेक्नैपर्छ । संसदीय समितिको निर्देशनलाई टेक्नैपर्छ । कुनै पनि समितिले, कुनै पनि आयोगले, कसैले गरेको निर्णयमा जसले विजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको वक्यौता नउठाउ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ ? एक रुपैयाँ पनि छोड्न पाइँदैन, एक सुका पनि छोड्न पाइँदैन । अर्ब अर्ब होईन । सरकारका निकायले पनि ज–जसलाई जे अह्राइएको छ, त्यो गर्नुपर्ने पर्छ । कसैको लहडले पनि हुँदैन, कसैको आदेशले पनि हुँदैन । विधिको शासन भनेको त्यही हो । यो विषयको सम्बन्धमा सरकारले यहाँ प्रष्ट भन्नुपर्छ,’– उनले भने ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले छ वटा उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि काटिएको लाइन जोडिएको थियो । विभिन्न उद्योगहरुले डेडिकेटेड ट्रङ्क लाइन विवादमा प्राधिकरणलाई २२ खर्ब भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्