काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले राजनीतिक दलहरुको चुरीफुरीले जनतामा निराशा बढेर गएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनतामा रहेको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताएका हुन् । जनतामा रहेको निराशाको सम्बोधन गर्ने विषयलाई सबै राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
‘देशमा राजनीतिक दलहरुको हालिमुहाली अर्थता चुरीफुरी यहाँ चलिरहेकै छ । नेपाली जनताको हो निराशा लामो समय निराशामा रहिरहन अवश्य पनि सक्दैन । युवाहरुमा देखिएको निराशा भोलि आगवेश र आक्रोशमा बदलियो भने यो देशको हविगत के होला ? एक पटक सबै दलहरुले यो विषयमा गम्भीर चिन्तन मनन गर्नुपर्ने आजको आवश्यक्ता देखिन्छ,’– उनले भने ।
साथै, उनले अहिले सबै राजनीतिक दलमाथि अविश्वास पैदा भइरहेको बताए । सत्ताको नेतृत्व गरिराखेका दलहरुले यो विषयलाई गम्भीतापूर्वक नलिएर समाधान नखोज्ने हो भने देश दुर्घटनातिर जाने खतरा बढेको नेता शाहीको भनाइ छ ।
नेता शाहीले माओवादीले संविधान संशोधन गर्न हुँदैन भनेर नभनेको बताए । उनले माओवादी पार्टी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको बताए । संविधान बनाइसकेपछि संघीय ऐन बनाउनुपर्नेमा दलहरुले सत्ताभन्दा अर्को कुनै कुरामा चासो नदेखाएको उनले बताए ।