Logo

सरकारले उद्योगपतिहरुलाई विद्युत महशुल छुट दिन हुँदैनः एमाले उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ३० साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले उद्योगपतिहरुलाई विद्युत महशुलमा छुट दिन नहुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उद्योगपतिलाई भन्दा पनि सरकारले दुःखी, गरिब जनतालाई ध्यान दिनुपर्ने बताएका हुन् । उनले अहिले भारतमा खर्बपतिहरुलाई सरकार अर्बौं रकम छुट दिने, तर जनतालाई केही पनि सहुलियत नदिने प्रवृत्ति देखिएको र त्यसको विरोध सुरु भइरहेको पनि बताए । उनले जो कमजोर छ, उसलाई सरकार र कानुनले संरक्षण गर्नुपर्ने बताए ।

नेता ज्ञवालीले उद्योगी, व्यवसायीहरुलाई सरकारले अनावश्यक दुःख दिन पनि नहुने बताए । उनले भने, ‘उद्योगतिहरुलाई माफी दिने भनिएको छ, त्यो गर्न हुँदैन । जोसुकै होस्, उनीहरुलाई सरकार पक्षबाट अनावश्यक दुःख पनि दिन हुँदैन । उद्योगपतिहरुले हामीलाई माफी मिनाह गर्नुपर्छ भन्ने किसिमले कसैलाई दिन हुँदैन । अहिले भारतमा देखिरहेका छौं, खर्बपतिहरुलाई अर्बौं रकम छुट दिने, जनतालाई नदिने । यस्तो खालको भारतमा देखा परेको छ । हामीले पनि उद्योगतिलाई दिने जनतालाई नदिने ? सबैभन्दा बढी छुट त जनतालाई दिनुपर्यो, गरिबहरुलाई दिनुपर्यो नि । जो कमजोर छ, त्यसको लागि सरकार चाहियो । कमजोरलाई कानुनले संरक्षण गर्नुपर्यो । अन्यायमा परेकाहरुलाई सबैभन्दा बढी संरक्षण गर्नुपर्छ । सरकार पीडितहरुको संरक्षक र सेवक हो । जनतालाई डण्डा लगाउने होईन ।’

बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले छ वटा उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि काटिएको लाइन जोडिएको थियो । विभिन्न उद्योगहरुले डेडिकेटेड ट्रङ्क लाइन विवादमा प्राधिकरणलाई २२ खर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्