Logo

सेना समायोजन र हतियार व्यवस्थापन गरेवापत मेरो पार्टी विभाजन भयोः प्रचण्ड



काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेना समायोजन र हतियारको व्यवस्थापन गरेकै कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए ।

‘भोलि विहानसम्म पर्खियो भने यो देशमा दुर्घटना हुनसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुनपनि सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो । विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो ।’ उनले भने, ‘एउटामात्रै क्षति मैले र मैले नेतृत्व गरेको पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापत, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापत मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’

साथै, उनले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताए । उनले संसार भर चल्ने युद्धहरु कि जीत वा हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको बताए । ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुनेथियो ।’ उनले भने, ‘संसारभरी नै चल्ने यस प्रकारको युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रुपमा रहेको छ । हाम्रा अनुभव निकै मौलिक छन् । हाम्रै गृह, हाम्रै जलवायू, हाम्रै संस्कृतिको अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रुपमा यो रहेको छ । अरु देशको नक्कल यो छैन ।’ Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्