Logo

ओलीले माओवादी जनयुद्धलाई पटक-पटक हिंसात्मक द्वन्द्व भनेपछि प्रचण्डले संविधान सभाको निर्णय पढेर सुनाए



काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसात्मक द्वन्द्व’ भनेकोप्रति आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा उनले तत्कालीन संविधान सभाले नै जनयुद्धलाई स्वीकार गरेको स्मरण गराए । उनले तत्कालीन संविधान सभाअन्तर्गतको समितिमा छलफल हुँदा प्रसंग उल्लेख गर्दै माओवादी जनयुद्धलगायत सबै आन्दोलनको नाम राख्ने सहमति भएको पढेरै सुनाए ।

‘अहिले पनि नेताहरु बोल्दाखेरी हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जालाजस्तो गर्नुहुन्छ । जबकी संविधान सभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । प्रस्तावनाको अनुच्छेद ३ मा छलफल हुँदा, तत्कालीन समितिका सभापति कांग्रेसका अहिलेका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको समितिले गरेको निर्णय हो यो । यो संविधान सभाबाट पनि पारित भएको छ ।’ उनले थपे, ‘प्रस्तावनाको अनुच्छेद ३ मा माओवादी जनयुद्ध लगायत सबै आन्दोलनको नाम उल्लेख गर्ने वा माओवादी जनयुद्धलगायत सबै आन्दोलनको नाम ब्याख्यात्मक टिप्पणीमा राख्ने वा माओवादी जनयुद्ध व्याख्यात्मक टिप्पणीमा पनि नराख्ने भन्ने सम्बन्धमा छलफल हुँदा माओवादी जनयुद्धलगायत सबै आन्दोलनको नाम राख्ने सहमति भयो भनेर निर्णय भएको छ । यो कुराको जानकारी होस् ।’

संविधान सभाबाट सर्वसम्मत रुपले पारित भएको कुरालाई आफूले ध्यानाकार्षण गराउन चाहेको उनले बताए । जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको विशुद्ध कारण रहेको उनले दाबी गरे । जनयुद्ध विशुद्ध ध्वंशात्मक आन्दोलन नरहेको उनको दाबी छ । पछिल्ला राजनीतिक घटनाक्रमले सुशानको गति रोकिने, बहुदलीय व्यवस्थामा दुई दलीय व्यवस्था त ल्याउने होईन भन्ने प्रश्न खडा भएको उनले बताए । Photo By: Mukunda Kalikote/reporters Nepal



प्रतिक्रिया दिनुहोस्