Logo

आफूमाथि माओवादीले गरेको आक्रमण स्मरण गर्दै लिङ्देनले भने: यो मेरो अतिरिक्त जिन्दगी हो, फेरि यस्तो द्वन्द्व देख्न नपरोस्



काठमाडौं,३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले माओवादीले गरेको शसस्त्र विद्रोहको बेलामा आफूमाथि अनाहकमा भएको आक्रमणबारे सदनमा स्मरण गरेका छन् ।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका उनले माओवादीले आफूमाथि गरेको आक्रमण सम्झँदै आफूजस्तै बिनाकारण राज्य र विद्रोही दुवै पक्षबाट दुख पाउनेहरु रहेको भन्दै उनीहरुको मुद्दापनि विधेयकले सम्बोधन गर्नुपर्ने बताए ।

‘मेरो कोही कसैप्रति आग्रह पूर्वाग्रह छैन् । मैले यसअघि पनि भनेको छु । कि यो द्धन्द्धमा म सेना पनि थिईन् । सरकारको मान्छे पनि थिईन् । तर, म विद्रोही पक्षको आक्रमणमा परे । आक्रमणमा परेमात्र होइन् म आज जसरी यहाँ उभिएको छु त्यो मेरो अतिरिक्त जिन्दगी हो’ उनले भने

लिङ्देनले देशले फेरि यस्तो द्धन्द्ध भोग्न नसक्ने भन्दै यसतो घटना नदोहोरिओस् भन्ने कामना गरेका छन् । ‘त्यो द्धन्द्ध कसका लागि भयो र कसका कारण भयो त्यो प्रष्ट पारिनुपर्छ । भन्नलाई जसले द्धन्द्धको नेतृत्व गर्यो । जो द्धन्द्धमा प्रत्यक्ष सामेल भयो । उसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ’ उनले भने ‘तर, हामीले यो कुरा बिर्सनु हुँदैन कि यसप्रकारको द्धन्द्ध अब देशमा कहिल्यै नदोहोरिओस् । यो द्धन्द्धमा दुईवटा पक्षमात्र छैन् । विद्रोही र सरकार पक्ष मात्र छैन् । जो द्धन्द्धमा प्रत्यक्ष सामेल थिएन् । उ सबैभन्दा धेरै पीडित भएको छ । आज हामीले पनि उहाँहरुले न्याय पाउनुपर्ने विषयमा कसैले आवाज उठाएका छैनौं’ ।



प्रतिक्रिया दिनुहोस्